२०७७ कात्तिक १२, बुधबार

डराएको मुस्कान

‘ऊ मेरो पूर्वप्रेमी हो।’

कलेजको पहिलो दिन चमेना गृहमा कफीको चुस्की लिइरहँदा मोबाइलमा औला दौडाएर मेरी नयाँ साथीले एउटा फोटो देखाइन्।

तस्बिर उनको पूर्वप्रेमीले भर्खरै मात्र पठाएको रहेछ। तस्बिरमा ऊ मुसुक्क मुस्कुराइरहेका थियो।

यस्तो लाग्दै थियो, ऊ केही भनिरहेको छ। मैले आफ्नो नजर मेरी साथीको अनुहारमा दगुराएँ। उनी थोरै आँखा भिजाएर त्यसरी नै मुस्कुराइरहेकी थिइन्। मैले भने घरमा बा–आमा सम्झेँ। मेरा बा–आमालाई त मैले अलिक मुस्कुराएको तस्बिर पनि पठाएको छैन। कोही भेट भए साँच्ची बाले के देखाउँछन् होला?

‘तिम्रो अझै कुरा हुन्छ ऊसँग?’ मैले मेरै शैली र संस्कारको प्रश्न तेर्साएँ। 

‘बेलाबेला हुन्छ। उसको नयाँ प्रेमिका छे। सारै राम्री। उनीसँग पनि कुरा हुन्छ मेरो।’ अर्को साथीलाई पनि कफी खान बोलाउँदै उसले ऊतिर दृष्टि दगुराई। 

म एकैपल्ट करिब तीन दशकअघिका मेरा पुराना कलेजका दिनहरूमा पुगेँ र सम्झेँ मेरा सबै ‘प्रेमिका’ हरूलाई। साँच्चै के गर्दै होलान्? कस्ता छन् होला? के उनीहरू पनि यसरी नै मुस्कुराइरहेका छन् होला? लाजले अलिकति रातो पनि भएँ।

तर, पुराना दिनहरू सम्झँदा एकपल्ट आफू फेरि जवान भएको महसुस भयो। मनमनै सोचेँ, भरे घर पुग्नासाथ सबैलाई फेसबुकमा खोज्छु र हेर्छु उनीहरूको मुस्कान। पक्कै पनि उहिले मैले प्रेमपत्रमा लेखेझैं ‘पानी परेपछिको बादल खुलेझैं’ मुस्कुराइरहेका होलान्।

एउटा प्रश्नले भने मलाई घच्घचाइरह्यो। के हामी यत्ति स्वार्थी भइसक्यौं, जसलाई हिजो आफूभन्दा पनि बढी माया गरियो उसले अर्को जीवन जिउन खोज्नासाथ ऊसँगको सबै सम्बन्ध सकिन्छ? किन म मेरी यी नयाँ साथी जस्तै पुराना प्रेमिकाहरूको तस्बिरहरू हेरेर मुस्कुराएको छैन? बगैंचामा आँखा दगुराएँ, फूलमा जमेर चम्किएको शीत बिस्तारै सुक्दै थियो। 

‘तिमीलाई अझै पनि माया लाग्छ उसको?’ मैले उत्सुकता फुकाएँ। 

उसले मलाई अजबको प्राणी जसरी हेरिन्। दाँत नदेखिने गरी अनौठो तरिकाले ओँठ तन्काइन्। ढाड सीधा गरिन् र मेरो आँखामा हेरेर भनिन्– ‘अवश्य पनि।’

म फेरि पुराना दिनहरूमा फर्कें। के म पनि मेरो पुराना ‘प्रेमिका’हरूलाई माया गर्छु? म निरूत्तर थिएँ। यसको सटिक उत्तर मनमा आएन। माया गर्छु या गर्दिनँ भनेर जाँच्ने यन्त्र मसँग त छैन। यदि मायाँ गर्थे त कलेजको गेटमा हात छाडेदेखि मैले फेरि किन फर्केर हेरिनँ? उनीहरूले नहेरे पनि मैले त हेर्न सक्थेँ नि!

‘उसले पनि उत्तिकै माया गर्छ त?’ मेरो प्रश्नमा थोरै ओँठ तन्काएर यति मात्र भनिन्– ‘त्यो त उसैलाई थाहा होला।’ तर, आँखा भने ढुक्क थिए। 

म फेरि नेपाल पुगेँ। र, सम्झेँ ती सबै नारीहरूलाई जसलाई तेजाबले जलाइएको थियो। मुस्कान खातुनलाई सम्झेर म धेरै बेरसम्म अँध्यारिएँ।

म घर फर्किएँ। दिनभरि पानी परेर होला घर पनि म जस्तै गमक्क परेको थियोे। कलेजको घटना ताजै राखेर फेसबुकमा हामफाल्ने तयारी गरेँ। पुराना यादहरूलाई गोताखोरले डुबेको मान्छे खोजेझैं खोज्नु जो छ।

के भेटिएलान् त? यदि भेटिए पनि ती यादहरू जिउँदै निस्केलान् त? फेसबुकमा यादको खोजीमा हामफाल्नै आँटेको थिएँ, एउटा स्टाटसले फेरि झस्कायो। 

विद्यालय पढ्दाकी सखीले अमेरिकाबाट पोस्ट गरेको स्टाटसले मलाई जिस्कायो। ‘आफ्नो मर्जीले देशको नागरिकता नै त्यागेर विदेशी बन्दा ठूलै भोज दिनेहरूले देशलाई यसरी गाली गर्न मिल्छ र?’

मैले आफ्ना स्टाटसहरू हेरेँ। धन्न मैले गाली नै त गरेको रहेनछु। सम्झेँ, बिहान कलेजमा भेटिएकी ती साथीले देखाएको उनको पूर्वप्रेमीको मुस्कुराइरहेको तस्बिर। र, फर्किएँ भित्तातिर, नेपालको झण्डा त्यो भन्दा पनि मीठो मुस्कुराइरहेको थियो।

साँच्ची म धेरै पल्ट झुकेँ होला, भक्कानिए हुँला, तर यो झण्डालाई अहिलेसम्म मुस्कानमै देखेको छु। मसँग मेरो झण्डा खुसी छ र त्यो भन्दा पनि म यो झण्डासँग सुरक्षित छु। र, सम्झेँ म जस्तै नागरिकता त्यागेका लाखौं मानिसको विदेशका घरमा के झण्डा यसरी नै मुस्कुराइरहेको होला? 

म पूर्णरूपमा विदेशिएको १० वर्ष पुगेछ। नेपालको राजनीतिभन्दा पनि सामाजिक परिवेश मेरो चासोको विषय हो। बलात्कार र एसिड आक्रमणका घटनाहरूले मुटु च्वास्सच्वास्स पारिरहन्छ। तर, त्यसको न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरूमा लेख्ने या सुझाव दिने हिम्मत मसँग हुँदैन। एउटा प्रश्नले सधैं भयभित बनाउँछ– त्यत्रो जान्ने थिइस् भने नेपाल छाडेर किन गइस्? यो प्रश्नको उत्तरको खोजीमा नै छु म अहिले पनि। 

के नेपाल छाड्ना साथ मेरो आफ्नो जन्मथलोप्रतिको जिम्मेवारी सकिएकै हो त? अनि फेरि सम्झन्छु बा र आमालाई। बा–आमालाई छाडेको त तीन दशक भइसक्यो। के अब मेरो बा र आमाप्रतिको जिम्मेवारी पनि सकिएकै हो? आमाले फोनमा ‘बालाई डाइबिटिज छ तैपनि गुलियो खान छाड्दैनन्, ए छोरो सम्झा न’ भन्दा म चुप लागेर बस्ने कि ‘ए बा औषधि खानुस् गुलियो होइन’ भन्ने!

के त्यसो भन्दा बा ले, ‘मुला बा को चिन्ता छ भने नेपाल आइज र सेवा गर्, उता बसेर ठूलो कुरा गर्छस्?’ भनेछन् भने! हो त्यस्ता धेरै छोराहरू पनि होलान् जो विदेशिएपछि ‘आफ्नो भागमा परेको बाले कमाएको एक गरो खेत’ बेचेर विदेशमा आफ्नो घरको बगैंचामा सानो ‘बार्बिक्यु स्पट’ बनाउलान्। तर, म? अहँ त्यस्तो विचार त टुसाएको पनि थाहा छैन अहिलेसम्म।

तब फेरि किन डराउने? अनि फेरि सम्झेँ बिहान कलेजमा भेटिएकी ती साथीले देखाएको उनको पूर्वप्रेमीको मुस्कुराइरहेको तस्बिर। बा र आमा त पूर्व होइनन्, मेरो देश जस्तै, फेरि मसँग किन छैन सबै मुस्कुराइरहेको तस्बिर?

भित्तामा फर्केर हेरेँ। नेपालको झण्डा मुस्कुराइरहेको थियो। अहिले भने आँखा भरिए।

आँखाभरि बा र आमा आए। किनकी भित्तामा कतै बा र आमाको तस्बिर थिएन। बा र आमा त फेसबुकमा पोस्टिएपछि देखिने मेरा फेसबुके साथी जस्तै भइसकेछन्।

पूर्वप्रेमिका खोज्न फेसबुकमा डुबेको गोताखोर म बाहिर डिलमा निस्किएँ र बा को ‘प्रोफाइल’ मा गएँ। दुईचार थान बा र आमाको फोटो झिकेँ। उहिले म खाली खुट्टामा उभिएर स्वीटरमा परालको त्यान्द्रो अड्केको फोटो पनि रहेछ। अनलाइनबाटै त्यसलाई कागजमा उतारेर फ्रेममा राखेर घरै पुर्‍याइदिने गरी ‘अर्डर’ दिएँ। ओँठ खोलेर मुस्कुराएँ। आँसु मुखमा पसेछ। साँच्ची आज थाहा भो आँसु त नुनिलो हुँदो रहेछ। 

म पुनः फेसबुकको पोखरीमा डुबेँ, आफ्ना पूर्वप्रेमिकाहरू खोज्न। करिब दुई घण्टाको प्रयासपछि एउटा पुरानो याद भेटेँ। उनी मुस्कुराइरहेकी थिइन् तर केही डराएझैं। के म उनलाई बोकेर बाहिर निस्किऊँ त? फेरि रिसाइन् भने? शंकालु छ नि त हाम्रो मानसिकता अझै पनि। अनुमति मागेँ र पाएपछि माथि डिलमा ल्याएँ। एकटकले हेरिरहेँ उनलाई र भित्रभित्रै खुसी भएँ। 

‘तिमी त जस्ताको तस्तै छौ त, तिमी मुस्कुराउँदा त अझै पनि हिमाल हाँस्छ।’ उहिले उनलाई लेखेको प्रेमपत्रको एक हरफ प्याट्टै मुखमै आयो। ‘कि फेसबुकमा देखिन अभिनय गरेकी हौ?’

‘तिमीलाई के लाग्छ?’ उनले पहिले जस्तै प्रतिप्रश्न गरिन्। 

‘मलाइ त त्यो मुस्कानमा धेरै नै डर मिसिए झैं लाग्यो।’ मैले जे देखेँ त्यही भनेँ। 

‘तिमी अझै पनि उस्तै छौ। माया गर्छौ है अझै पनि, त्यसैले त मेरो मुस्कानभित्रको डर देख्यौ।’ उनले परेली उचालेर मलाई आँखाभित्र बस्न दिइन्। म पनि सुटुक्क आँखामा पसेँ। अनि पो थाहा भो आँखाको कुनामा मुस्कान राखेकी रहिछन्। र, उनी डराइरहन्छिन् कतै म पनि ‘मुस्कान खातुन’ बन्ने त होइन? 

म बाहिर निस्केँ र सम्झेँ मेरो देश। अझै कति ‘मुस्कान खातुन’हरू जन्मिने हुन्? 

म झसंग भएँ। र, सम्झेँ बिहान कलेजमा भेटिएकी ती साथीले देखाएको उनको पूर्वप्रेमीको मुस्कुराइरहेको तस्बिर। र, यति मात्र सोचेँ ‘के मेरा पूर्वप्रेमीहरू पनि यसरी नै मुस्कुराइरहेको तस्बिर पठाउन सक्लान् त?’ हात बिस्तारै निधारसम्म पुगे र सलाम ठोकेँ मुस्कान खातुनलाई, जो लड्दैछिन् धेरै तस्बिरहरूमा मुस्कान छर्न। 

एक गिलास पानी पिएर म भुइँमै बटारिएँ। विद्यालय पढ्दा गृहकार्य नगरेपछि शिक्षकले डण्डा समातेर प्रश्न सोध्दा माथि सिलिङतिर आँखा दगुर्थे। सात कक्षाको सिलिङमा १५ वटा बिम थिए। म बिस्तारै गन्थेँ र त्यो डरबाट मुक्त हुन्थेँ। अहँ म भाडामा बस्ने यो घरको सिलिङमा गन्नलाई बिम नै छैन। म कसरी डर मुक्त बनुँ? 

ब्लग

डराएको मुस्कान

प्रकाशित: मंगलबार, असोज २७, २०७७ ०९:०१
सारांशमा :
  • मेरा बा-आमालाई त मैले अलिक मुस्कुराएको तस्बिर पनि पठाएको छैन। कोही भेट भए साँच्ची बाले के देखाउँछन् होला?
  • म पनि सुटुक्क आँखामा पसेँ। अनि पो थाहा भो आँखाको कुनामा मुस्कान राखेकी रहिछन्। र, उनी डराइरहन्छिन् कतै म पनि ‘मुस्कान खातुन’ बन्ने त होइन?
  • हात बिस्तारै निधारसम्म पुगे र सलाम ठोकेँ मुस्कान खातुनलाई, जो लड्दैछिन् धेरै तस्बिरहरूमा मुस्कान छर्न।
पूरा पढ्नुहोस्

सिफारिस