महामारीसँग जुझ्दै धार्मिक अनुष्ठान सम्पन्न गराउँदाको खुसी

गत केही वर्षयता ललितपुर नगरीमा भएका दुई महत्त्वपूर्ण ऐतिहासिक अनुष्ठानहरू भए, जसमा सहभागी हुने सुअवसर मैले पनि पाएँ। वि.सं. २०७५ को चैत महिनाको दोस्रो सातातिर सम्पन्न ‘श्रीदेवीयाग लक्षाहुति तथा नवग्रह शान्ति यज्ञ’ प्रसिद्ध पूर्णचण्डी मन्दिर प्राङ्गणमा आयोजना गरिएको थियो। सो क्रममा मैले पनि ऋत्विक/हवनकर्ताको भूमिका निर्वाह गर्ने ऐतिहासिक मौका पाएँ। 

ललितपुरका राजोपाध्याय ब्राह्मणहरूको तत्त्वधानमा गरिएको उक्त ऐतिहासिक कर्मसँगै मेरा ससुरा बुवा पं. हेरम्बानन्द राजोपाध्यायले अर्को धार्मिक अनुष्ठानको कुरा निकाल्नुभयो, पाटनको कुम्भेश्वर-सर्वेश्वर मन्दिरमा अतिरुद्राभिषेक। 

रुद्राभिषेक र यसका प्रकारहरू

यस्तो अनुष्ठान बिरलै मात्र सुनिन्छ। सामान्यतः रुद्री पाठमा वेदका ऋचाहरू पाठ गरिन्छ। कसैकसैले यही रुद्रीपाठ ११ पटक अर्थात् ११ आवृत्ति गर्ने पनि गर्दछन्। 

योभन्दा अलि विस्तृत स्वरूप लघुरुद्राभिषेक हो, यसमा ११ जना ब्राह्मणले एक दिनमा ११ आवृत्ति (अर्थात् ११ x ११) रुद्रीपाठ गर्छन्। साथै उक्त कार्यमा एकजनाले सप्तशती चण्डी पाठ र अर्को एकजनाले शिव पाञ्चायन देवताका स्तोत्र पाठ पनि गर्दछन्। प्रायःजसो एक दिनमै सकिने भएकोले यस किसिमको अनुष्ठान हिन्दु धर्मावलम्बी समाजमा अहिले लोकप्रिय नै छ।

अझ योभन्दा विस्तृत अनुष्ठान हो, महारुद्राभिषेक। यसमा चाहिँ ११ पटक लघुरुद्राभिषेक गरिन्छ। विशेषतः ११ जना ब्राह्मणले ११ दिनसम्म ११ आवृत्ति रुद्रीपाठ (अर्थात् ११ x ११ x ११) यस महारुद्राभिषेकमा गर्दछन् भने यससँग सप्तशती चण्डी र शिवपाञ्चायण पाठ पनि ११ दिनसम्मै गरिन्छ। यो अनुष्ठान गराउनेसम्म पनि निकै कम भइसकेको छ। 

महारुद्राभिषेकभन्दा अझ विस्तृत रूप हो, अतिरुद्राभिषेक। यसमा ११ पटक महारुद्राभिषेक (अर्थात् ११ x ११ x ११ x ११) गरिन्छ। यो अनुष्ठान समय र अर्थ दुवै हिसाबले खर्चिलो हुन्छ, अतः सामान्य व्यक्ति वा परिवारले गर्न सक्दैनन्। त्यसैले पनि यस्तो अनुष्ठान विरलै गरिन्छ र भएको सुनिन्छ।

कुम्भेश्वर मन्दिरमै चाहिँ वि.सं. २०३५ सालतिर ललितपुर, चाकुपातका मास्के परिवारले यस्तो अनुष्ठान गराएको भन्ने बुझिन्छ। 

कसरी सुरु भयो ऐतिहासिक अतिरुद्राभिषेक

मेरा ससुरा बुवा पं. हेरम्बानन्द राजोपाध्यायले निकाल्नुभएको अतिरुद्राभिषेकको कुरा ठ्याक्कै मेरा एकजना यजमानको इच्छासँग मेल खायो। काठमाडौँको बाफल निवासी लक्ष्मणा श्रेष्ठबाट यस्तो इच्छा व्यक्त भएपछि मेरा ससुरा बुवाले भन्नुभयो, “सितिमिति हुनै नसक्ने यस्तो धार्मिक कार्य जोकोहीले गर्न पाउँदैन। नाइनास्ती नगर्नुहोस्, जसरी भए पनि मिलाउनुहोस्।”

मेरो द्विविधा झन् बढ्यो – ३५ सालमा कुम्भेश्वरमा यस्तो अनुष्ठान चार महिना लगाएर गरिएको सुनेको थिएँ। के म चार महिना लगातार काठमाडौँबाट कुम्भेश्वर मन्दिर जाने आँट गर्न सकुँला र? 

ससुरा बुवाले यसलाई दैनिक २२ आवृत्ति २२ जनाले गर्ने सुझाव दिनुभयो। यसो गर्दा गणितीय हिसाबले ३१ दिनमा अनुष्ठान सम्पन्न हुन आउँछ। 

अझै पनि एक महिना त लामै अवधि हो, तर पनि सक्छु कि भन्ने आँट आयो। बगलामुखी एवं कुम्भेश्वरका मूल पुजारी मूलाचार्य रहने गरी २५ जना यस काममा आबद्ध हुने निधो भयो। अनि कुरा आयो मितिको – झरी, १६ श्राद्ध, दशैँ–तिहार, लगनको बेला छल्दै ७६ सालको चैत १ गते शनिबार उपयुक्त हुने देखियो। यस हिसाबले ७७ सालको बैशाख १ गते यस ऐतिहासिक अनुष्ठान सम्पन्न गर्ने लक्ष्य थियो।

कोरोनाको चुनौती

यो कार्य आरम्भ गर्नुयता नै विश्वभर कोरोना महामारी देखा परिसकेको थियो। तापनि हामीले चैत १ गतेबाट बिहान ६ः३० देखि ९ः३० मा सक्ने गरी व्यवस्था मिलायौँ। कुम्भेश्वर मन्दिर परिसर वेदध्वनिले गुञ्जायमान हुन थाल्यो, साथै सप्तशती चण्डी र शिव पाञ्चायनको पाठ पनि हुन थाल्यो। 

यससँगै श्रद्धालु भक्तजनको उपस्थिति पनि बढ्दै गएको थियो र मानिसहरू टाढाटाढाबाट उक्त ऐतिहासिक अनुष्ठान हेर्न आउन थाले।

तर अचानक चैत ११ गतेबाट सरकारले कोरोना महामारी प्रकोप नियन्त्रणका लागि लकडाउनको घोषणा गर्‍यो। यस्तो अवस्थामा यो अनुष्ठान रोक्नुको कुनै विकल्प नै भएन। 

सोहीबीच अर्को विपत्ति आइलाग्यो। जेठ २५ गते आइतबार उक्त समूहका एकजना ब्राह्मण शैलेन्द्र राजोपाध्यायको मात्र ४५ वर्षको उमेरमा दुःखद् निधन भयो। उनी केही समयदेखि अर्बुद रोगसँग जुध्दै गरेका रहेछन्, जुन कुरा हामीले निधनको खबरसँगै मात्र थाहा पायौँ। 

उनको स्मरणमा हामीले सो रिक्त स्थानमा कसैलाई नराखी उनका तर्फबाट बरु सबैले थप एक–एक आवृत्ति पाठ गरी दायित्व निर्वाह गर्ने निधो सर्वसम्मतबाट भयो। हामीले यसरी उनीप्रति श्रद्धाभाव व्यक्त गर्‍यौँ। 

त्यस्तै, अर्को चुनौती थपियो। गत साउनको पहिलो हप्ता अभिभावक ससुरा बुवा पं. हेरम्बानन्द राजोपाध्याय अस्वस्थ हुनुभयो। उनको बोली अस्पष्ट भयो, दृष्टि कमजोर भयो र हिँडडुल गर्न सक्नुभएन। पथप्रदर्शकको अस्वस्थताले धार्मिक कृत्यमा अप्ठेरो त भयो, तर सो दायित्वलाई पछि व्याकरणाचार्य पं. गजानन्द राजोपाध्यायले पूरा गराउने तय भयो। 

पुनः कार्य सुचारु गर्नका लागि पटकपटक छटपटियौँ, उता यजमान लक्ष्मणाजीलाई पनि उस्तै पिरलो थियो। अवस्था सहज नहुँदासम्म सरकारलाई अवज्ञा गरी अनुष्ठान पूर्ण गर्न सम्भव थिएन। तिहारपछि मंसिर ४ गते बिहीबार कुम्भेश्वर पुगेर त्यहाँका पुजारी माधवश्याम शर्मासँग कुराकानी भयो। उनले सर्वसाधारणका लागि मन्दिर खुला नभए पनि रोकिएको अनुष्ठान पूर्ण गर्न सम्बन्धित निकायको स्वीकृति पाइसकेको जानकारी दिए।

यसअनुसार मंसिर ८ गते अनुष्ठान पुनः सुरु भयो। बिना बाधाव्यवधान अनुष्ठान ठ्याक्कै बालाचतुर्दशीकै पुण्यतिथिमा सम्पन्न भयो। ३१ औँ दिन यज्ञ कार्यमा सबैले हवन गर्दाको क्षण ऐतिहासिक सफलताको आनन्द प्राप्त भयो, शायद सबैको अनुभव समान होला। बद्रीश्याम शर्मा होताका रूपमा तथा प्रमोद शर्मा उद्गाताका रूपमा यज्ञ पूर्ण भयो। पूर्णाहुतिपश्चात् कुम्भेश्वरमा सामूहिक आरतीपछि अतिरुद्राभिषेकको जलप्रसाद श्रद्धाका साथ हामी सबैले ग्रहण गर्‍यौँ।

यस ऐतिहासिक अवसरमा संलग्न सबैलाई धन्यवाद ज्ञापन मूलाचार्यका निवासमा यजमानलगायत सबैलाई अभिनन्दन पत्रसहित धन्यवाद ज्ञापन गरियो।

जीवनशैली ब्लग

महामारीसँग जुझ्दै धार्मिक अनुष्ठान सम्पन्न गराउँदाको खुसी

सबै तस्बिरहरू- शिवेश शर्मा
प्रकाशित: मंगलबार, पुस २१, २०७७ ०६:५२
सारांशमा :
  • ११ जना ब्राह्मणले ११ आवृत्ति रुद्रीपाठ (+ चण्डीपाठ + पाञ्चायनपाठ)लाई लघुरुद्राभिषेक, ११ पटक लघुरुद्राभिषेकलाई महारुद्राभिषेक र ११ पटक महारुद्राभिषेकलाई अतिरुद्राभिषेक भनिन्छ।
  • अतिरुद्राभिषेक- यसमा ११ जना ब्राह्मणले ११ आवृत्ति रुद्रीपाठ (+ चण्डीपाठ + पाञ्चायनपाठ) १२१ दिन ( = ११ x ११) सम्म गर्छन्।
  • यो अतिरुद्राभिषेक समय र अर्थ दुवै हिसाबले खर्चिलो हुन्छ, अतः सामान्य व्यक्ति वा परिवारले गर्न सक्दैनन्। त्यसैले पनि यस्तो अनुष्ठान विरलै गरिन्छ र भएको सुनिन्छ।
  • कुम्भेश्वर मन्दिरमै वि.सं. २०३५ सालतिर ललितपुर, चाकुपातका मास्के परिवारले यस्तो अनुष्ठान गराएको भन्ने बुझिन्छ। 
पूरा पढ्नुहोस्

सिफारिस