२०७७ माघ ६, मंगलबार
जीवनशैली फोटो फिचर

टोखावासीलाई चाकु बनाउने चटाराे, यस्तो छ चाकुको महत्त्व र बनाउने तरिका (फोटो फिचरसहित) 


प्रकाशित: मंगलबार, पुस २८, २०७७ ०७:३३

काठमाडौं। माघको पहिलो दिन अर्थात् माघे संक्रान्ति। त्यो दिन पुसमा पकाएर माघमा खाने प्रचलन छ। 

साथै, माघे सक्रान्तिका दिन विशेष रूपमा घिउ, चाकु र तिलको लड्डु खाने गरिन्छ।
 
नजिकिँदै गरेको यही पर्वलाई लक्षित गरेर यतिबेला राजधानीका विभिन्न स्थानमा चाकु बनाउने चटारो देखिन्छ। चाकुका लागि टोखा निकै प्रख्यात छ। टोखामा बनाइने चाकुलाई माघे संक्रान्तिमा विशेष महत्त्व दिइँदै आएको छ।
 
त्यसैले यतिबेला टोखावासीलाई चाकु बनाउन भ्याइनभ्याइ छ। टोखास्थित टोखा चाकु प्रोडक्सन एण्ड खाद्य उद्योगका सञ्चालक हंशराज श्रेष्ठले दैनिक ५०० किलो सखरको चाकु बनाउने गरेको जानकारी दिए।
 
कोरोना महामारीका कारण विगतका वर्ष जतिको चटारो नभए पनि बाहिरबाट आउने मागअनुसार आफूहरूले चाकु बनाउने गरेको उनको भनाइ छ।

चाकुका लागि आवश्यक पर्ने सखर अहिले तराईबाट मगाइन्छ। जबकि, केही वर्ष अगाडिसम्म काठमाडौंमै सखर उत्पादन गरेर चाकु बनाउने गरिन्थ्यो। 

“कोरोना महामारीले सबै कुरा महँगो बनाएको छ। त्यसमा पनि उखु किसानको आन्दोलनले सखर नै पर्याप्त मात्रामा पाइएको छैन। पाइए पनि महँगो भएर आउँछ,” उनले भने।

आफूले परम्परागत रूपमा बुबा हजुरबुबाले अँगाल्दै आएको पेसालाई नै अगाडि बढाइरहेको उनको भनाइ छ। चाकुका लागि आवश्यक पर्ने सखर यतिबेला तराईबाट मगाइन्छ। जबकि, केही वर्ष अगाडिसम्म काठमाडौंमै सखर उत्पादन गरेर चाकु बनाउने गरिन्थ्यो।
 
“अहिले त घरै घर छन्। मानिसै मानिस छन्। खाली जग्गा नै छैन। कसरी उखु लगाउने? त्यही भएर अहिले तराईबाट ल्याउने हो,” उनले भने। 

चाकुको फाइदा

चाकु खाँदा जति मिठो हुन्छ, त्यसको फाइदा त्यति नै बढी छ। विशेषगरी चिसो मौसममा चाकु खानु स्वास्थ्यका लागि फाइदाजनक हुने उनको भनाइ छ।
 
“चाकु खाँदा शरीरमा धेरै फाइदा हुन्छ। रोगसँग लड्नसक्ने क्षमता विकास गर्छ। त्यसमा पनि बालबालिकादेखि लिएर बूढाबूढीलाई एकदमै राम्रो हुन्छ,” उनले भने।
 
विज्ञहरूसमेत चाकु शरीरका लागि धेरै फाइदाजनक हुने बताउँछन्। बालबालिकालाई चिनीको सट्टा चाकु वा सखर दिन सके धेरै राम्रो हुने उनीहरूको भनाइ छ। जाडो सुरू भएदेखि नै बालबालिकालाई दैनिक रूपमा चाकु खुवाउनुपर्ने विज्ञहरूले सुझाव दिने गरेका छन्।


सुत्केरी महिलालाई पनि चाकु दिने गरिएको चाकु उद्योगका सञ्चालक श्रेष्ठ बताउँछन्। “दूध कम आउने सुत्केरी महिलालाई पनि चाकु खुवाइन्छ,” उनले भने। 

कसरी बनाइन्छ चाकु?

तामाको ठूलो भाँडामा सखर-पानी उमाल्ने र बाक्लो भएपछि त्यसलाई भाँडोमा खन्याउनुपर्छ। चिसो भइसकेपछि एउटा खम्बामा झुन्ड्याइएको किलामा अड्याएर धेरै पटक तान्नुपर्छ। त्यसपछि त्यसलाई स-साना भाग बनाएर चाकुको आकारमा राखिन्छ। चाकुमा आवश्यकता अनुसार अन्य कुरा पनि मिसाउन सकिने श्रेष्ठको भनाइ छ।


उनका अनुसार सखरलाई करिब तीन घण्टासम्म पकाउने, करिब आधा घण्टासम्म चिस्याउने र राम्रोसँग तन्काएर ताड्नुपर्छ। जसले गर्दा चाकुको रङ रातो हुन्छ भने खानको लागि पनि नरम र स्वादिलो हुन्छ। एक पटकको चाकु बनाउनका लागि सबै प्रक्रिया पूरा गर्दा पाँच घण्टा लाग्ने गरेको उनको भनाइ छ।
 
नेवार समुदायको छुट्टै विशेषता

माघे सक्रान्तिलाई नेवारी भाषामा ‘घ्यःचाकु संल्हू’ भनिन्छ। उनीहरूले माघ १ गते मनाइने पर्वमा घिउ र चाकुको परिकारलाई निकै महत्त्व दिन्छन्।
 
नेवार समुदायमा त चाकु मान्छे जन्मिएदेखि मर्दासम्म आवश्यक पर्ने उद्योगी श्रेष्ठको भनाइ छ। “नेवार समुदायमा त मान्छे जन्मिँदादेखि मर्दासम्म चाकु आवश्यक पर्छ। यसले विशेषगरी गर्मी गराउँछ। जन्मिँदा सुत्केरीलाई खुवाउनुपर्छ। मरेपछि पनि चाकु नै आवश्यक पर्छ। हामी यसलाई विशेष महत्त्व दिन्छौं,” उनले भने।

सिफारिस