शाहवंश जोगाउने मगर काजीहरू

नेपालको इतिहासमा मगरहरुले रगतपसिना बगाएको देखिन्छ। पृथ्वीनारायण शाहले गोरखाजस्तो सानो ठाउँबाट राज्यविस्तारको अभियान चलाउनुअघि नै त्यहाँ विभिन्‍न महत्वपूर्ण जिम्मेवारी लिएर मगरहरुले शाह वंशलाई राज्य सञ्चालनमा सघाएका प्रमाणहरु पाइन्छन्। कुनै समय गोरखा राज्यमा मुख्य काजी (हालः प्रधानमन्त्री)कै हैसियतमा रहेर मगरहरुले गोर्खाली शासनसत्तामा सहयोगी भूमिका निर्वाह गरेका थिए। रणबहादुर शाहको नायवी लिएर राज्य सञ्चालन गरिरहेकी राजेन्द्रलक्ष्मीले सर्वजीत राना मगरलाई मूलकाजी बनाएकी थिइन् (ज्ञानमणि नेपाल, ‘नेपालको महाभारत’-२०५२, पृ.१९)।

आज उनै मगरहरु देशको सीमान्तकृत समुदायका रुपमा संघर्ष गरिरहेको अवस्थामा छन्। उनीहरुको इतिहासबारे पनि उतिविधि चर्चा भएको देखिँदैन।  

पृथ्वीनारायणका पिता नरभूपाल शाहको समयमा एकजना मुख्य काजी विराज थापा (मगर) सक्रिय थिए। उनी गोर्खाली राजा पृथ्वीपति शाहकै समयमा काजी भई गोरखा राज्यमा सक्रिय थिए। त्यसो त पृथ्वीनारायणको समयमा पनि अर्का विराज थापा (मगर) काजीका रुपमा सक्रिय भएको देखिन्छ। यसबाट दुईजना विराज थापा (मगर) इतिहासमा सक्रिय देखिन्छन्। यो लेख मुख्यतः नरभूपाल शाहकालीन विराज थापा (मगर)का बारेमा चर्चा गरिएको छ । 

नरभूपाल शाहका संरक्षक

गोर्खाली राजा पृथ्वीपति शाहको समयमा उनका छोराहरुबीच को राजा हुने भन्‍ने विषयमा हानाथाप थियो। उनका ६ रानी र १२ छोरा थिए। माहिला छोरा रणशार्दुल शाह निक्कै योग्य थिए। उनीमाथि पृथ्वीपतिको विशेष सहानुभूति थियो। तर, युवराज वीरभद्र शाह भने भाइको डाहा गर्थे। दाजुको यस्तो व्यवहारले दिक्क भएर रणशार्दुलले आत्महत्या गरेपछि राजा र युवराजबीच मनोमालिन्य बढ्यो। यसो हुँदा युवराज वीरभद्र आफ्नो मन बहलाउन केही समय दौंतरी भादगाउँले राजा भूपतीन्द्र मल्लको पाहुना भएर बसे। त्यहाँ उनी विरामी परेकोले दौडादौड गरी गोरखा फर्कंदै गर्दा गण्डकी किनार आरुघाटमा १७५४ सालमा उनको देहान्त भयो। 

आफू भादगाउँतिर जान लाग्दा उनले आफ्नी दुई रानी (दिग्विजय सेनका बहिनी)लाई माइतीघर तनहुँ पठाएका थिए। दोस्री रानी मल्लिकादेवीबाट वीरभद्रको देहान्तको केही समयपछि नवराज नरभूपाल शाहको जन्म भएको खबर गोरखादरबारमा पुग्दा त्यहाँ हर्ष र उल्लास छाएको थियो। वृद्धावस्थामा पुगिसकेका पृथ्वीपतिले आफ्ना नाती नरभूपाललाई गोरखा ल्याउने तयारी गरे। यता वीरभद्रको देहान्त हुनासाथ गोरखा राज्यको उत्तराधिकारी बन्‍न पृथ्वीपतिका साहिँला छोरा दलु शाह र काहिँला उद्योग शाहबीच हानाथाप चलिरहेको थियो। नरभूपाल जन्मेको खबर तनहुँबाट आएपछि यी दुई भाइ मनको इच्छालाई खुम्च्याएर बस्न बाध्य भए (बाबुराम आचार्य, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’-२०६१, पृ. १७)

आफ्ना मावलीघर तनहुँको राजभवनमा नरभूपालको गौरेश्वर पन्त(?)ले उनको नाम कर्म (न्वारान) गरिदिएका थिए। नरभूपाल शाहकी आमा मल्लिकादेवीले गौरेश्वरलाई ‘अघि पनि महाराजबाट तपाईंलाई गुरु तुल्याउँला भनी वरण भएको रहेछ। उहाँ स्वर्ग भए पनि त्यो वरण छँदैछ। अब मेरा छोराको जय हुनेछ। गोरखाका गादी जस्ता पाठले हुन्छ, प्राप्त हुने कुरा पनि बुवाका सल्लाहले तपाईंले नै मिलाइदिनुहोस्’ भन्‍ने हुकुम गरिन्। त्यसपछि गौरेश्वरले छिप्केश्वरीमा गई पुरश्चरण गरी प्रसादपाती चढाए। त्यसैबेला गोरखाबाट आएका विश्वराज थापा (विराज थापा ?) प्रभृति मगर, भीमराज पाण्डे, विश्वराज पाण्डेलगायतले महारानी र नरभूपालको सवारी चलाए (‘प्राचीन नेपाल’, संख्या २१-२०२९ कात्तिक, पृ.१)

तर, यहाँ पण्डितका रुपमा उल्लेख गरिएको व्यक्ति गौरेश्वर पन्त नभएर गौरेश्वर पाण्डे हुन्। पन्तहरु गोरखामा सैन्य 
सेवामा थिए, उनीहरु पण्डित खलक होइनन्। ‘प्राचीन नेपाल’मा भूलबस पाण्डेको ठाउँमा पन्त हुन पुगेको हो।
इतिहास शिरोमणि बाबुराम आचार्यका अनुसार गौरेश्वर बडा छटेल र विद्यासम्पन्‍न व्यक्ति भई राजदरबारमा रोब जमाएर यिनले तनहुँका उत्तराधिकारी कामराजदत्त सेनका गुरु भएर आसन बलियो गराएका थिए। पछि उनले मल्लिकादेवी र नरभूपालका साथ आफ्ना छोरा गोकुलविलास पाण्डेलाई गोरखा पठाएर १७६४ सालमा सम्पन्‍न नरभूपालको ब्रतबन्धमा सावित्री मन्त्र सुनाएका थिए (आचार्य, उही, पृ. २१)

नेपालमा लामो समयसम्म जंगबहादुर राणाको उदयपछि राजगुरुपुरोहितका रुपमा दरबारको सेवा गर्ने पाण्डे खलक उनै गौरेश्वरका सन्तति हुन् (प्रकाश ए. राज, ‘प्राचीन नेपाल’ संख्या १४५-असार २०५७), पृ. ५०-५३ )। डा. महेशराज पन्तले यो लेखकलाई बताएअनुसार अन्तिम राजपुरोहित बडागुरुज्यू जनार्दनराज पाण्डे हुन्। 

तनहुँमा नरभूपाल जन्मिएका छन् भन्‍ने थाहा पाएपछि खासगरी शाहवंशीय चौतारिया खलकमा खैलाबैला मच्चिएको थियो। नरभूपाल जन्मिएको हो कि होइन भनी तथ्य पत्ता लगाउन चौतारियाहरु जहाँगीर शाह र चन्द्ररुप शाह तनहुँतिर गएका थिए। त्यतिखेर गोरखाका मुख्य काजी विराज थापा मगरले नवयुवराज नरभूपालको व्यवस्थापन गरिरहेका थिए। उनीसँग रानी मल्लिकादेवीले आवश्यक सल्लाह गरेपछि यसमा सबैसँग परामर्श लिन जरुरी ठानी गोरखाभरका भद्रभलाद्मीलाई बोलाए। सबैको सहमतिपछि साइत गरी टिका चलाई नरभूपाललाई गादीमा राज गराए। त्यसपछि मधुकर शाह, जहाँगीर शाह, उद्योग शाह, दल शाह सबैले गोरखा छाडे। काजी विराज थापा मगरको ठूलो जयगान भयो। गोरखा राजदरबारमा को राजा हुने भन्‍ने विषयमा विवाद भइरहेको बेला काजी विराज थापा मगरले भने आफ्नो घरमा नरभूपाललाई सुरक्षित राखेका थिए। उनको सिंहासनका रुपमा आफ्नो घरको खटिया प्रयोग गरेका थिए। उनले आफ्ना छोरा-नातिसँग कसैलाई पनि त्यो खटियामा बस्न तथा सुत्न नदिनू भन्‍ने आदेश दिएका थिए (‘प्राचीन नेपाल’, उही, पृ. २)

१७७३ सालमा पृथ्वीपतिको देहान्तपछि उनका नाति नरभूपाल सिंहासनमा बसे (आचार्य, उही, पृ. २४)।
माथि उल्लेख भएअनुसार तनहुँबाट नरभूपाललाई गोरखा ल्याइएपछि काजी विराज थापा मगरले आफ्नो घरमा ल्याई घरको खटियालाई राजसिंहासनको रुप दिएर सुरक्षित राखेका थिए भन्‍ने बुझ्न सकिन्छ। यताबाट विचार गर्दा नरभूपालको संरक्षक काजी विराज थापा मगर थिए भन्‍ने स्पष्ट हुन्छ। 

विराज थापा मगरका सन्तान

पृथ्वीपति शाहकालीन काजी र नरभूपाल शाहका संरक्षक विराज थापा मगरका सन्तानले नै उनको विरासतलाई निरन्तरता दिने अवसर पाएका थिए। पृथ्वीपतिको पालादेखि काजी भई आएका विराज थापा मगर परलोक भएपछि उनका छोरा रामकृष्ण थापा मगरलाई त्यो पद दिइयो। साथै, जयन्त ग्याङ्मी (मगर)ले पनि काजी पाए। पृथ्वीध्वज थापा मगरले चढाएको जाहेरीमा नरभूपाल राजा भएको चार वर्षपछि विराज थापा मगर परलोक भए भनी लेखिएको छ। नरभूपाल शाह १७७३ सालमा राजा भएका हुन्। यसकारण विराज थापा मगरको १७७७ सालमा देहान्त भएको देखिन्छ (दिनेशराज पन्त ‘गोरखाको इतिहास’ पहिलो भाग-२०४१, पृ.२४५)।

नरभूपाल शाहको समयमा विराज थापा मगर र जयन्त राना मगर दुईजना काजी भएका देखिन्छ। तर, दुईवटै काजी पदमा मगरले खाए भनी महेश्वर पन्त र भानु अज्र्यालले असन्तुष्टि जनाए। उनीहरुले ‘यी मगरले राज्यलाई थामेर मात्र खान सक्छन्, मगरको मात्र भर परेर हजुरको राज्य बढ्न सक्दैन’ भनेर महेश्वर पन्त र भानु अज्र्यालले नरभूपालको कान भरे। त्यसपछि विराज थापाका छोरा रामकृष्ण थापा काजी पदबाट खोसिए। उनको ठाउँमा महेश्वर पन्त काजी भए। जयन्त रानाको पदचाहिँ कायमै रह्यो।

पृथ्वीराज थापाले चढाएको जाहेरीअनुसार विराज थापा परलोक भए पनि विराजका भाइ र छोराले दुई वर्षसम्म र त्यसपछि महेश्वर पन्तसँग मिली आलोपालो गरी एक-दुई बाली खाए। महेश्वर पन्त खोसिई जयन्त रानाले पाए। रामकृष्ण थापाको देहान्तपछि कालु पाँडे काजी भए। रामकृष्ण थापाका छोरा नरकेश्वर थापाले ददांगी मात्र पाए (पन्त, उही, पृ. २५९)।

यसबाट के बुझ्न सकिन्छ भने, कालु पाँडे काजी भएको समय दिवंगत गोरखाली काजी विराज थापा मगरका सन्तानले ददांगी अर्थात् बालबच्चा स्याहार्ने ददाको काम भने पाइरहेका थिए।

नरभूपालकालीन ताम्रपत्रमा थापा मगर

यो लेखकले गोरखा मान्वुकी सिर्जना घलेबाट नरभूपाल शाहकालीन एउटा ताम्रपत्रको छायाँपत्र प्राप्त गरेको छ । यो ताम्रपत्र सिर्जनाका पुर्खा रामु घलेले पाएको जग्गासम्बन्धी भन्‍ने देखिन्छ। ताम्रपत्रमा यस्तो लेखिएको छः
स्वस्तिश्रीगीरिराजाचक्रचुडामनीनरनरायायेणेत्यादिवीवीदवीधवलीवीराजामनमस्नोन्‍नतश्रीमन्माहाराजाधीराजाश्रीश्रीमंनरभुपालसहादेवनां सदा समरवीजाइनम्

आगे रामु घलेके लकुवाको सापोनापो मन्बुमाहा बीर्ता बकस् भयो. मानबुले उठायाको षडपुजा षोक्पा उलाक रामु घलेले उठाउनु. मानबुले मान्याको सरैले बाराथरि दुवारे मांनु. माहाभीरसमेत् बकस् भयो. साक्षी अग्नेस्वर जैसि लोहारि राना शिवराम बस्नेत् जसबु राना जोपु भडारि अहिवर्न थापा बीरभद्र थापा कर्दूमानंदु पाध्य जयेक्रीस्न जैसि. लिखतका साछि मोछेसोरा जैसि. इति संवत् १७९६ जेष्ठ बदि रोज १ शुभम्

यस ताम्रपत्रमा उल्लेख भएको लोहारी राना र जसबु राना गरी दुईजना मगर भएको स्पष्ट हुन्छ। तर, यहाँ थापा थरका अहिवर्न थापा र बीरभद्र थापा पनि मगर नै हुन् भन्‍ने अनुमान गर्न सकिन्छ। यी दुवै सम्भवतः काजी विराज थापा मगरकै सन्तति थिए। विराज थापा परलोक भए पनि विराजका भाई र छोराले दुई वर्षसम्म र त्यसपछि महेश्वर पन्तसँग मिली आलोपालो गरी एक दुई बाली खाए। महेश्वर पन्त खोसिई जयन्त रानाले पाए भनिएअनुसार यी दुई थापा विराज थापा मगरकै भाइ-छोरा हुन सक्छन्। यसमा विचारविमर्श गर्न खासगरी थापा क्षेत्रीहरुका वंशावलीसम्बन्धी यहाँ छलफल गरिन्छ।

गोरखालीहरुको इतिहासमा भीमसेन थापा, अमरसिंह थापा (बडाकाजी) र भक्ति थापा प्रशिद्ध छन्। थापा क्षेत्रीहरुको नरभूपाल शाहको समयमा नभई पृथ्वीनारायण शाहको समयमा सैन्य नायकको रुपमा उदय भएको पाइन्छ।

भीमसेन थापासम्बन्धी वंशावलीबारे केही विचार गरौं। 

पृथ्वीनारायणको समयका सरदार शिवरामसिंह बस्नेतकी श्रीमती सुरप्रभा विक्रम थापा(बगाले) की आफ्नी सहोदर बहिनी हुन्। यसै नातासम्बन्धले विक्रम थापाका छोरा बीरभद्र थापा तनहुँ राज्यमा रहेको आफ्नो पैतृक निवासलाई परित्याग गरी गोरखा राज्यमा आएर गोरखाली सेनाको तल्लो तहको नोकरीमा भर्ना भएका थिए। राजा पृथ्वीनारायणको अन्तिम समयतिरको एउटा पत्रमा यिनको नाम सर्वप्रथम उल्लेख भएको पाइन्छ। यिनका छोरा अमरसिंह थापा (साना)को जन्म वि.सं. १८१६ आसपासतिर गोरखा राज्यमा नै भएको पाइन्छ (बाबुराम आचार्य, ‘जनरल भीमसेन थापाः यिनलाई मैले जस्तो देखेँ’-२०६५, पृ. १)।

यसबाट विचार गर्दा ताम्रपत्रमा उल्लेख भएको बीरभद्र थापा नामका व्यक्ति भीमसेन थापाका पुर्खा हुन् कि होइनन् भन्‍नेमा शंका उब्जन्छ। किनकि, नरभूपाल शाहको समयमा काजी खलकमा थापाहरुको उदय भइसकेको देखिँदैन। ताम्रपत्रमा शिवराम बस्नेतको समेत नाम उल्लेख भएकोले उनीसँगै भीमसेन थापाका पूर्वज वीरभद्र थापाको नाम पनि जोडियो कि भन्‍ने अनुमान पनि गर्न सकिन्छ। तर, ताम्रपत्रमा तल्लो तहका कर्मचारीको नभई नाम चलेका भारदारहरुको मात्र नाम उल्लेख हुने परम्परा त्यसबेला भएकोले ताम्रपत्रमा उल्लेख भएको बीरभद्र थापा भीमसेन थापाको पुर्खा नहुने सम्भावना प्रबल छ।

बडाकाजी अमरसिंह थापाको वंशावलीमा पनि अहिवर्न थापा र बीरभद्र थापाको नाम पाइँदैन। उनको वंशावलीमा सबैभन्दा पहिले अनिरुद्र थापा, धन्जय थापा, रज्जै थापा र उनका छोरा भीमसिंह थापाकी जेठीपट्टिका चार भाइ छोरामध्ये अमरसिंह थापा माहिला छोरा हुन् (डा. इन्दिरा जोशी, ‘आधुनिक नेपालको निर्माणमा वडाकाजी अमरसिंह थापाको योगदान’-२०६३, वडाकाजी अमरसिंह थापाको वंशज)।

यताबाट हेर्दा नरभूपाल शाहकालीन ताम्रपत्रमा अमरसिंह थापाका पूर्वजको नाम देखिँदैन। भक्ति थापाको कुरा गर्दा उनी रणबहादुर शाहको समयमा मात्र गोरखाली सेनामा संलग्न भएका देखिन्छन्। पृथ्वीनारायणको रेखदेखमा हुर्केका बूढा अमरसिंह थापा आदि योद्धाहरुको श्रेणीमा भक्ति थापाको गणना हुन्छ। तर, यिनले पृथ्वीनारायणको संगत पाएका थिएनन्। अर्थात् जन्मजात यिनी गोरखाली होइनन्। वि.सं. १८३९ मा लमजुङे सेनापति भक्ति थापा लडाइँमा घाइते भई युद्धबन्दी भए। त्यही घटनाले भक्ति थापालाई गोरखाली बनायो (महेशराज पन्त, ‘पूर्णिमा’ पूर्णांक १०, २०३८ भदौ, पृ. १)।

यसरी हेर्दा नरभूपाल शाहकालीन वि.सं. १७९६ को उक्त ताम्रपत्रमा उल्लेख भएका दुईजना थापाहरु पनि क्षेत्री नभएर थापा मगर नै हुन् भन्‍ने अनुमानको नजिक पुग्न सकिन्छ।

अर्का विराज थापा मगर

नरभूपाल शाहकालीन मुख्य काजी विराज थापा मगरपछि पृथ्वीनारायणले राज्यारोहण गरिरहेको बेला पनि अर्का विराज थापा मगर नामका काजी थिए। पृथ्वीनारायणले वि.सं. १७९९ बैशाख ३ गते राज्यारोहण गरे। गोरखाली परम्पराअनुसार नयाँ राजा सिंहासनमा बस्नेबित्तिकै सिमानाको रियासतउपर आक्रमण गर्ने नियम चलिआएको थियो। उनले काठमाडौंको रियासतमाथि आक्रमण गर्ने योजना बनाए र त्यसका लागि पहिला नुवाकोट आक्रमण गर्नका लागि काजी विराज थापा मगरलाई खटाए। यसमा महेश्वर पन्त पनि पछि थपिए। तर, गोरखा राज्य त्यागेर कान्तिपुरसँग मिली नुवाकोटका उमराव भई बसेका जयन्त रानाको पूरा तयारी देखेर उनीहरु सिमानाको त्रिशूली नदी तर्न नसकी केवल साँघु तोडेर फर्केका थिए (बाबुराम आचार्य, ‘पूर्णिमा’ पूर्णांक ५०-२०३८ भदौ, पृ.१)।

यस ऐतिहासिक तथ्यबाट स्पष्ट हुन्छ, इतिहासका विभिन्‍न कालखण्डमा थापा मगरहरुले राज्य संयन्त्रमा रहेर रगत पसिना बगाएका थिए। 
 
विचार / अन्तर्वार्ता

शाहवंश जोगाउने मगर काजीहरू

प्रकाशित: आईतबार, फागुन ९, २०७७ १२:१०
  • पृथ्वीनारायण शाहले गोरखाजस्तो सानो ठाउँबाट राज्यविस्तारको अभियान चलाउनुअघि नै त्यहाँ विभिन्‍न महत्वपूर्ण जिम्मेवारी लिएर मगरहरुले शाह वंशलाई राज्य सञ्चालनमा सघाएका प्रमाणहरु पाइन्छन्।
  • नरभूपाल शाहको समयमा विराज थापा मगर र जयन्त राना मगर दुईजना काजी भएका देखिन्छ। तर, दुईवटै काजी पदमा मगरले खाए भनी महेश्वर पन्त र भानु अज्र्यालले असन्तुष्टि जनाए।
  • विभिन्‍न ऐतिहासिक तथ्यहरुबाट स्पष्ट हुन्छ, इतिहासका विभिन्‍न कालखण्डमा थापा मगरहरुले राज्य संयन्त्रमा रहेर रगतपसिना बगाएका थिए।

सिफारिस